नेपाली कांग्रेस, महाकुलुङको घोषणा पत्र स्थानीय तह निर्वाचन, २०७९
नेपाली कांग्रेस, महाकुलुङको प्रतिबद्धता- पत्र
स्थानीय तह निर्वाचन, २०७९
आदरणीय महाकुलुङ बासी आमाबुबा, दिदीबहिनी तथा दाजुभाईहरु,
जय नेपाल !
१ नयाँ
वर्ष २०७९ को आगमनसँगै समुन्नत महाकुलुङको सपना र योजना बोकेर हामी स्नेह, आशीर्वाद र अमूल्य मतको विनम्र अपेक्षा सहित तपाईंहरूको घरदैलोमा उभिएका छौ।
यो वर्ष हाम्रो संघीय ढाँचामा रहेका स्थानीय, प्रदेश र केन्द्र तीनै तहका
निर्वाचनहरू हुने क्रममा यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । संविधानले
तीन तहको सरकारको व्यवस्था गरेको सन्दर्भमा जनताले सबै भन्दा नजिकबाट अनुभूत गर्न
सक्ने स्थानीय तहको सरकार गठनको लागि मुलुक अहिले चुनावमय बनेको छ । संविधानले
दिएको अधिकारको सदुपयोग गरी स्थानीय साधन श्रोतको परिचालन गरेर महाकुलुङ गाउँपालिकालाई
समृद्वितर्फ उन्मुख गर्न सक्ने सक्षम महाकुलुङको नेतृत्व आजको आवश्यकता हो। यसै
परिप्रेक्षमा आफ्नो ज्ञान, सिप, क्षमता, कुशल नेतृत्व र व्यवस्थापकीय कौशलको उच्चतम प्रयोग गर्दै समृद्ध महाकुलुङ
निर्माण गर्ने महाअभियानको लागि निस्वार्थ भावनाका साथ नेपाली काँग्रेस, महाकुलुङ स्थानीय सरकार संचालन गर्न दाबेदार प्रस्तुत गर्दछ ।
२) आवधिक निर्वाचन लोकतन्त्रको आधारभूत स्तम्भ
हो । जति धेरै नागरिकले यसमा भाग लिन्छन्, लोकतन्त्र उति नै सुदृढ, स्थायी र जनमुखी हुन्छ । संसारका धेरै देशका जनता आवधिक निर्वाचनमा यसरी भाग
लिएर स्वविवेकले आफ्नो प्रतिनिधि चुन्न पाउने अधिकारका लागि अझै सङ्घर्षरत छन्।
तसर्थ, समृद्ध महाकुलुङ निर्माणको महाअभियान सफल पार्न हाम्रो
पार्टी नेपाली कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा भोट हाली तपाईहरुको अमूल्य भोटले
हामीलाई आगामी ५ बर्ष महाकुलुङ गाउँपालिकाको नेतृत्व गर्न दिनु हुन अनुरोध गर्दछौं
।
३) निर्वाचनमा कुनै पनि दललाई छनौट गर्ने धेरै
आधार हुन्छन् तर मुख्य आधार उसले अघिल्लो निर्वाचनमा पाएको जिम्मेवारी र आफ्नो
संवैधानिक दायित्वलाई कसरी पूरा गर्यो भन्ने मूल्याड्ढन हुनुपर्छ । २०७४ मा भएको महाकुलुङको स्थानीय सरकारको निर्वाचनदेखि २०७९ को यो निर्वाचनसम्म आइपुग्दाको
पाँच वर्षको अवधिमा कुन पार्टीले कस्तो भूमिका निर्बाह गर्यो भन्ने वस्तुनिष्ठ
विश्लेषण गर्न सकियो भने मात्र हामीले मतदानको सही निर्णय गरेर मुलुकलाई समुन्नति
र विकासको बाटोमा अगाडि बढाउन सक्छौं । यसका लागि गत पाँच वर्षको अवधिको अवलोकन र विवेकपूर्ण
समीक्षा गर्नु अपरिहार्य छ। स्वशासनको नौलो लोकतान्त्रिक अभ्यास गर्दै जनताको दुःख
सुखको घनिष्ट साथी हुने अपेक्षा र संवैधानिक आधार भएका महाकुलुङको स्थानीय सरकारले
यो पाँच वर्षको अवधिमा के कस्ता काम गरे, त्यसको मूल्याड्ढन र त्यसैको
आधारमा भविष्यको कार्यकालको आकलन गरेर मात्र यो आवधिक निर्वाचनमा मतदानको निर्णय
गर्न हार्दिक अनुरोध गर्दछौं ।
सुशासन र समृद्धिको
सुदृढ आधार, सवल स्थानीय सरकारः हाम्रो मुलभूत सिद्धान्त
४)
समुन्नत
महाकुलुङ गाउँपालिका निर्माण गर्नका लागि नेपाली कांग्रेस, महाकुलुङले परिकल्पना र प्रस्ताव गरेको मार्गचित्र अनुरुप स्थानीय सरकारले
अवको पाँच वर्ष आफ्ना क्षेत्रगत नीति, योजना र कार्यक्रमहरू अगाडी वढाउन देहायका
मूलभूत सिद्धान्त अनुशरण गर्नेछनः-
क)
नागरिकको
स्वतन्त्रता र सम्मान
·
नागरिकको
व्यक्तिगत स्वतन्त्रता र अधिकारको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने,
·
समग्र
मानव विकासका लागि ठोस कार्ययोजना तय गरी कार्यान्वयन गर्ने,
·
स्थानीय
जाति, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्धन
गर्ने,
·
सङ्घीय
तथा प्रादेशिक सरकार अन्तर्गतका अङ्ग र निकायमा स्थानीय नागरिकले रोजगारी पाउनका
लागि शिक्षित, सक्षम र सीपमूलक जनशक्ति तयार गर्ने,
·
सवैको
समानुपातिक समावेशी प्रतिनिधित्वको सुनिश्चित गर्ने,
ख)
असल
शासन र जवाफदेहिता
·
नागरिक
बडापत्र जारी गरी सेवाको सार्वजनिकीकरण गर्ने,
·
नीति, कार्यक्रम र योजनाको आवधिक रुपमा लक्ष्य तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्ने र आयोजनाहरुको प्राथमिकीकरण र छनौटको
सार्वजनिक सुनुवाइ गर्ने,
·
आवधिक
वित्तीय विवरणको सार्वजनिकीकरण गर्ने,
·
विकासको
गुरु योजना लगायत वार्षिक कार्यक्रम, बजेट एवं कार्यमूलक पक्षका विस्तृत विवरण
पारदर्शी बनाउनका लागि औपचारिक संयन्त्रको विकास गर्ने,
·
सक्रिय
सुशासन तथा लेखा समिति, वित्तीय अनुसाशन कायम गर्ने
·
नागरिकबाट
प्राप्त गुनासा अभिलेखीकरण, कारवाही र व्यवस्थापन गरी त्रैमासिक
प्रतिवेदन प्रकाशन गर्ने,
·
आयोजना
तथा कार्यक्रमहरुको सामाजिक परीक्षण गर्ने ।
ग)
प्रभावकारी
सार्वजानिक सेवा प्रवाह
·
स्थानीय
तहबाट प्रदान गरिने प्रत्येक सेवा अनलाईन एवं अफलाईन माध्यमबाट नागरिक वडापत्र उपलब्ध
गराउने,
·
स्थानीय
तहबाट प्रदान गरिने प्रत्येक सेवाहरु नागरिक वडापत्र अनुरुप प्रवाह भए–नभएको बारे कडाइका साथ अनुगमन गर्ने,
·
सेवाग्राहीहरुसँग
समय समयमा परामर्श, अन्तरक्रिया र सर्वेक्षण गरी सेवा प्रवाहमा
गुणात्मक सुधार गर्ने,
·
सेवा
प्रवाहका क्रममा लाभग्राहीहरुको गुनासो सुन्ने संयन्त्रलाई प्रभावकारी र व्यवस्थित
गर्ने,
·
विशेष
वर्गहरु जस्तै अपाङ्ग तथा फरक क्षमता भएका व्यक्ति, अशक्त, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला, दीर्घ रोगी नागरिकका लागि घर–दैलोमा नै सेवा सेवा उपलब्ध गराउने,
घ)
स्रोतको
उचित व्यवस्थापन
·
सम्भाव्य
आय स्रोतको पहिचान र राजश्वका स्रोतको रचनात्मक प्रयोग गर्ने,
·
उद्यम
व्यवसाय मैत्री कर प्रणाली निर्धारण गर्ने,
·
स्थानीय
कच्चा पदार्थको प्रयोग, रोजगारी सिर्जना गर्ने,
·
सार्वजनिक
सेवा र नागरिक हितको आधारमा करको निर्धारण गर्ने ।
ङ)
सामाजिक
रुपान्तरण
·
जातीय, साँस्कृतिक, लैङ्गिक, वर्गीय, सामाजिक विभेदको पूर्ण रूपमा अन्त्य
गर्ने,
·
दलित
समुदायप्रतिको विभेद र छुवाछुतलाई सामाजिक अपराध भएको वास्तविकतालाई स्वीकार गर्दै
पूर्णरूपमा नियन्त्रण गरी सामाजिक सदभाव तथा समभाव सृजना गर्न सङ्कल्प गर्ने,
·
वहुविवाह
तथा वालविवाहमा पूर्णरुपमा नियन्त्रण गर्ने,
·
धुम्रपान, मध्यपान, लागू पदार्थ दुर्व्यसन जस्ता सामाजिक विकृतिको उचित
व्यवस्थापन, नियमन र नियन्त्रण गर्ने,
·
स्थानीय
सरकारलाई स्थानीय नागरिक माथि शासन गर्ने सरकार भन्दा पनि नागरिकको सेवा गर्ने
सेवक सरकारको रुपमा रुपान्तरण गर्ने,
·
स्थानीय
विविधतालाई सम्मान गर्दै विभिन्न जाति र समुदायको भाषा, लिपि, संस्कृति र सम्पदाको संरक्षण गर्ने ।
च)
नागरिक
सम्बन्ध र जनसहभागिता
·
नीति, कानून, योजना तथा कार्यक्रम तर्जुमामा नागरिक सहभागिता सुनिश्चित
गर्ने,
·
सरकारी
आयोजना तथा सेवा प्रवाहको सहभागितामूलक अनुगमन तथा मूल्याड्ढन गर्ने,
·
प्रादेशिक
तथा सङ्घीय जनप्रतिनिधिहरुसँग नागरिकसँगको सम्बन्ध सेतु निर्माण गर्ने,
·
स्थानीय
विकासका साथै समग्र विषयमा छलफल र परामर्शका लागि आवधिक रूपमा युवा सभा तथा महिला
सभा आयोजना गर्ने,
·
युवा, महिला तथा टोल समूहले स्थानीय सरकारका योजना, कार्यक्रम र गतिविधिको अनुगमन, मूल्याङ्कन र निगरानी गर्न संयन्त्र तथा संस्कारको विकास गर्ने,
हाम्रो पार्टीको प्राथमिकता र प्रतिबद्धताहरु
५)
आगामी
पाँच वर्षका लागि महाकुलुङको विकास र समुन्नतिका लागि हाम्रो पार्टीको तर्फबाट
देहायका क्षेत्रगत प्राथमिकता र प्रतिवद्धताहरु रहनेछनः-
क) शिक्षा
·
जीवनउपयोगी, व्यवहारिक, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा हाम्रो प्राथमिकतामा
हुनेछ। छेस्काम, बुङ र गुदेलमा सञ्चालनमा आएको कक्षा १२ सम्मको विद्यालयलाई
साधनश्रोत सम्पन्न बनाईनेछ ।
·
महाकुलुङमा
आफ्नै साधन श्रोत परिचालन गरेर समृद्धि हासिल गर्न सकिने व्यवहारिक बिषयहरु
विद्यालयका पाठ्यपुस्तकहरुमा समावेश गर्न प्रयत्न गरिनेछ ।
·
भौगोलिक
विकटताको आधारमा सामुदायिक आवासीय विद्यालयहरु निर्माण गरिनेछ । यस्ता विद्यालयमा
आर्थिक सामाजिक रुपले विपन्न बालबालिकाको खानपान, लत्ताकपडा लगायतका खर्च स्थानीय
सरकारले व्यहोर्नेछ ।
·
महाकुलुङमा
एउटा बहुमुखी क्याम्पस स्थापना गरिनेछ । भौतिक सुविधा सम्पन्नयुक्त पर्यटन, कृषि तथा भेटनरी जस्ता प्राविधिक तथा व्यवसायिक शिक्षालय स्थापना गरिनेछ ।
·
मेधावी, जेहेन्दार, गरिब, टुहुरा विद्यार्थीहरुको लागि उचित
छात्रवृतिको व्यवस्था गरी आवश्यक कार्यविधी तयार गरिनेछ ।
·
विद्यार्थीहरुको
अनुपातमा शिक्षकहरुको दरबन्दी कायम गरिनेछ ।
·
महाकुलुङ
गाउँपालिका भित्र बोलिने प्रत्येक भाषामा भाषिक पाठ्यक्रम तयार गरेर आवश्यकता अनुरुप
सबै विद्यालयहरुमा पठनपाठनको व्यवस्था गरिनेछ । जसको लागि गाउँपालिकाले छुट्टै
बजेटको व्यवस्था गर्दै भाषिक शिक्षक नियुक्ति गर्नेछ ।
·
महाकुलुङका
सबै विद्यालयमा विद्युत र इन्टरनेट सेवा जडान गरी शैक्षिक कृयाकलापलाई
प्रविधिमैत्री बनाईनेछ ।
·
शिक्षालाई
व्यवसायिक, रोजगारमूलक बनाईनेछ ।यसको लागिः-
अ)
पहिलो
बर्ष विद्यालयका शिक्षकहरुलाई अंगेजी भाषाबाट कक्षा संचालन गर्न अंग्रेजी भाषा र
कम्प्यूटर तालिम अनिवार्य गर्ने,
आ) दोश्रो बर्षबाट सबै विद्यालयहरुबाट अंग्रेजी
भाषाबाट कक्षा संचालन गर्ने,
इ)
कक्षा
८ बाट अनिवार्य कम्प्यूटर शिक्षा लागू गर्ने र यसका लागि कक्षा ८ का हरेक
विद्यार्थीहरुलाई गाउपालिका र विभिन्न संघसंस्थाहरुको सहयोगमा ल्यापटपको व्यवस्था
गर्ने,
ई)
कक्षा
९ का विद्यार्थीहरुलाई अनिवार्य रुपमा स्थानीय सिप सिकाउने र यसका लागि स्थानीय
रुपमा सिप भएका व्यक्तिहरुलाई प्रशिक्षकको रुपमा लिई डोको, डालो, नाम्लो, कोक्रो लगायतका चोया, बास तथा काठबाट निर्मित सिपहरु सिकाउने,
उ)
कक्षा
१० मा अनिवार्य रुपमा रोजगारमूलक सिपहरु जस्तै ईलेक्ट्रिसिटी, प्लम्बीङ, डकर्मी, सिकर्मी, सिलाई बुनाई जस्ता सिपहरुको
व्यवस्था गर्ने ।
ख) स्वास्थ्य
·
महाकुलुङ
प्राथमिक अस्पताललाई सुविधासम्पन्न अस्पतालमा रुपान्तरण गरिनेछ । गर्भवती
महिलाहरुको अकालमै मृत्यु हुने अवस्थाबाट जोगाउन हरेक स्वास्थ्य संस्थाहरुमा
बर्थिङ सेन्टरहरु सञ्चालन गरिनेछ ।
·
हाल
स्वास्थ्य स्वयंसेविकाहरुले गर्दै आएका कार्यहरुलाई उत्प्रेरणा दिदै तलबी नर्सको
ब्यवस्था गर्न पहल गरिनेछ ।
·
प्रत्येक
विद्यालयमा एक/एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिनेछ ।
·
स्वाथ्य
शिक्षामा जोड दिईनेछ । यसको लागि स्वास्थ्यकर्मीहरुलाई घरघर पठाएर स्वास्थ्य
शिक्षा दिईनेछ । अशक्त, जेष्ठनागरिकहरुलाई सामान्य सेवा घरघरमा
उपलब्ध गराईनेछ ।
·
आवश्यकता
अनुसार थप स्वास्थ्य क्लिनिक तथा गाउँघर क्लिनिक स्थापना गरी स्वास्थ्य सेवा
दिईनेछ ।हरेक नागरिकलाई स्वास्थ्य बिमा गराउने वातावरण तयार गरिनेछ, यसको लागि घरको आर्थिक अवस्था हेरी गरिब, असहाय र निम्न बर्गहरुलाई रोजगारको
व्यवस्था गरी सो रकमबाट स्वास्थ्य बिमा गराउने वातावरण तयार गरिनेछ ।
·
सबै
समुदायहरुलाई स्वास्थ्य बिमा गराईसके पश्चात सामान्य रोगहरुको उपचार त्यही बिमा
रकमबाट गराईनेछ र सो सामान्य भन्दा जटिल रोगहरुको उपचार गर्न गाउपालिकाले छुट्टै कार्यविधी
तयार गरी पालिकाले उपचारको व्यवस्था गर्नेछ ।
·
हरेक
टोल बस्तीहरुमा स्वास्थ्य र सरसफाई सम्बन्धी जनचेतनात्मक तालिमहरु संचालन गर्नेछ,
·
पालिकाले
आफ्नो पालिकामा एम्बुलेन्स खरिद गरी बिरामीको सेवा दिनेछ ।
ग) कृषि तथा पशुपन्छी
·
तत्काल
स्थानीय कृषक र प्राविधिकहरुको छलफलबाट कुन नगदेबाली कहाँ र कति मात्रामा उत्पादन
गर्न सकिन्छ, त्यसको बृहत प्रतिवेदन तयार गरिनेछ । त्यस्ता
नगदेबालीहरुमा अल्लो, अलैची, अदुवा, अकबरे, अम्लिसो, अर्गानिक चिया, अर्गानिक कफी, ओखर, ओलन र आलु गरेर १० ‘अ’ प्रमुख रुपमा भए पनि कृषकको माग अनुसार चिराइतो, स्याऊ, डालेघाँसहरु, काठ प्रजातिका बिरुवाहरु, बाँस, लोक्ता, रुद्राक्ष आदिको उत्पादन पनि हुनेछन् । उक्त
प्रतिवेदनमा उल्लिखत यी बिरुवाहरुमध्ये स्थानीय कृषकले उत्पादन गर्न सक्ने
प्रतिवद्वतासहितको माग फारम भराई उक्त परिणामको नर्सरी उत्पादन गरिनेछ ।
·
यस्ता
नर्सरी उत्पादन गर्ने केन्द्रहरु आवश्यकता अनुसार बुङको साद्धि, बुङ, पेल्माङ, छेस्काम, छेम्सिङ, मार्मेकु, तुमाऊ, गुदेल, चोचोलु समेत गरी कम्तिमा ९ स्थानमा
हुनेछन् । कृषकहरुलाई उनीहरुले चाहेजतिको बिरुवाहरु सुपथ मुल्यमा उपलब्ध गराईनेछ ।
·
बुङ, छेस्काम र गुदेलमा कृषी उत्पादन तथा बितरण केन्द्र स्थापना गरिनेछ ।
·
सबै
वडाको पहुंच पुग्ने गरी कोल्ड स्टोरको निर्माण गरिने छ ।
·
महाकुलुङ
गाउपालिकामा उपर्युक्त ठाउँ हेरी नेपाली कागज उद्योग स्थापना गरिनेछ ।
·
आवश्यक्ताको
पहिचान गरी आवश्यक ठाउँहरुमा सिचाईको ब्यवस्था गरिनेछ ।
·
हरेक
वडामा कृषि तथा पशु शाखा कार्यालय स्थापना गरिनेछ ।
·
वडामा
रहेको कृषि तथा पशुपन्छी शाखामा कृषि प्राविधिकहरुको दरबन्दी कायम गरी प्राविधिकहरुको
व्यवस्था गरिनेछ र वडामा कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा प्रदान गरिनेछ
।
·
हरेक
शाखामा एग्रोभेट व्यवस्था गरिनेछ र सो एग्रोभेटबाट किसानहरुले सजिलै मौसम अनुसारको
बिउ बिजन तथा कृषि सामग्रीहरु सूलभ मूल्यमा पाउने गरी उपलब्ध गराईनेछ ।
·
पालिकाले
सदरमुकाम सल्लेरी, काठमाडौ लगायतका बजारी क्षेत्रमा कृषि उपज विक्री केन्द्र संचालन गरी महाकुलुङका
किसानहरुले उत्पादन गरेका बस्तुहरुको खरिद गरी उक्त केन्द्रहरुमा पुर्याईनेछ।
·
बाह्य
क्षेत्रबाट आउने विषादी युक्त स्वास्थ्यलाई हानी गर्ने विभिन्न तरकारी तथा फलफुललाई
करको दायरामा ल्याईनेछ र स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाईनेछ ।
·
तरकारीबाली, नगदेवाली र फलफुललाई विशेष जोड दिईनेछ ।
घ) पुर्वाधार विकास तथा पर्यटन
·
इङखु
उपत्यका र सेतीपोखरी उपत्यका जाने प्रमुख बैकल्पिक पदमार्गका रुपमा महाकुलुङ हुँदै
जाने नयाँ पदमार्गहरु स्थापित गरिनेछ । यो उद्देश्य हासिल गर्न निर्माण चरणमा
रहेको मुद्धि–खोङमादिङा–सेतीपोखरी पदमार्गलाई पूर्णरुपमा सम्पन्न
गरिनेछ । उक्त पदमार्ग सम्पन्न हुने बित्तिकै खिराउले–छाराखर–चलेम–कोठे र बुङबाट चेरेम हुँदै कोठेसम्मको
पदमार्ग स्तरोन्नती तथा पुनःनिर्माण कार्य थालनी गरिनेछ, बुङ–छेस्काम–बोक्सुवार–केन्पा हुँदै कमेरेसम्मको गोरेटो
बाटो निर्माण गरिन्छ भने संखुवासभा क्षेत्रबाट निर्माणक्रममा रहेको केन्पा–खोङमादिङ पदमार्गको लागी सहकार्य गर्ने नीति लिईनेछ ।
·
बुङ–छेस्काम–बोक्सुवार–केन्पा हुँदै कमेरे सम्मको गोरेटो बाटो
निर्माण गरिन्छ भने संखुवासभा क्षेत्रबाट निर्माणक्रममा रहेको पर्यकीय केन्पा–खोङमादिङ पदमार्ग जोड्नको लागी सहकार्य गरिनेछ ।
·
महाकुलुङ
१ बुङमा सामुदायिक पर्यटन सूचना तथा सेवा केन्द्र, कोशेली घरको स्थापना गरिनेछ। उक्त
केन्द्रबाट पर्यटन सम्बन्धी सूचना दिनुका साथै स्थानीय हस्तकलाको बिक्री वितरण, स्थानीय जनताको तर्फबाट पर्यटकलाई स्वागत गर्दै सुचना दिने कार्य र राष्ट्रिय
निकुञ्जभित्र प्रवेश शुल्कको चेकजाँच एकैसाथ गर्ने ब्यवस्था मिलाईनेछ । पर्यटन विकासका सम्भाव्यताको अध्ययन गरी
दिर्घकालिन योजना बनाइने छ ।
·
होटल
तथा लजहरुलाई व्यवस्थित र स्वास्थ्यमैत्री बनाईनुका साथै ग्रामिण पर्यटन अन्तर्गत
गाउँलाई सुन्दर र मनमोहक बनाउन सरसफाई तथा पर्यटनमैत्री बनाईनेछ ।
·
माथिल्लो
मेरा क्षेत्रको होटल पसलहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाईनेछ ।
·
कुलुङ
तथा शर्पा संस्कृतिलाई पर्यटनसंग जोडिनेछ र होमस्टे कार्यक्रम संचालन गरिनेछ।
·
स्थानीय
जग्गाधनीहरुसँगको परामर्शमा जग्गा उपलब्ध गराई गुदेल महाकुलुङ हवाईमैदानको निर्माण
कार्य तत्काल अगाडी बढाईनेछ ।
·
महाकुलुङका
सम्पूर्ण पर्यटन क्षेत्रहरुलाई संसारभरी प्रचार गर्न वेवसाईट निर्माण गर्ने तथा
प्रचार सामग्री तथा पदमार्गको नक्सा बनाई पर्यटन ब्यवसायीहरुलाई उपलब्ध गराईनेछ ।
·
केन्पा
वा भुकुर डाँडामध्ये उपयुक्त ठाउँमा हिमाली भ्यु टावरको निर्माण थालनी गरिनेछ।
सम्बन्धित गाउँपालिकासंग सहकार्य गरेर शिलुछो पिकमा समेत यस्ता भ्यु टावर निर्माण
गर्न पहल गरिनेछ ।
·
बिद्युत
विकाससँग महाकुलुङ गाउँपालिकाको ५ वटै वडा जोड्ने र महाकुलुङबाट संखुवासभाको सिलिचोङ
गाउँपालिका जोड्ने केबलकारको सम्भाब्यता अध्ययन गरिनेछ । महाकुलुङलाई रिङरोडसहितको
शहरको रुपमा विकास गर्न अर्को १० वर्षे गुरुयोजना तयार गरिनेछ ।
·
सेतीपोखरी
उपत्यकाबाट खुम्बु उपत्यका प्रवेश गर्ने आम्फुलाप्चा भञ्ज्याङलाई सबै पर्यटकको
पहुँचमा पुर्याउन उक्त भञ्ज्याङमा स्थायी डोरी राख्ने ब्यवस्था मिलाईनेछ । अर्को १०
वर्षभित्र निर्माण थालनी गर्ने लक्ष्यका साथ त्यस ठाउँमा हिमाली केबलकार निर्माणको
सम्भाब्यता अध्ययन गरिनेछ ।
·
छेस्कामको
जुक्तुस्कोबाट हल्ला र फुकुर्वा देखि लाम्पम्माको उपयुक्त ठाउँमा अवतरण हुने
प्याराग्लाईडिङको सम्भाब्यता अध्ययन गरिनेछ । यी अध्ययन गरिएका विषयहरु समेटिएको
बृहत महाकुलुङ सहरीकरणको कार्यान्वयन अर्को १० वर्षे बृहत योजनामा समावेश गरी
विकास गर्दै लगिनेछ।
·
यसको
लागि हरेक गाउँपालिकामा इन्टरनेट सेवा पुर्याउने सरकारी नीतिलाई
कार्यान्वयन गराउन हाम्रो प्रयास हुनेछ । सम्बन्धित निकायमा पहल गरेर हालका
टेलिफोन टावरहरुको क्षमता वृद्धि गरिनेछ। जनतालाई सूचना, मनोरञ्जन र उपयोगी सीप
तथा ज्ञान प्रबाह गर्नका लागि एफएम सञ्चालनको वातावरण बनाउने, अनुमति दिने । बुङमा
आधुनिक पुस्तकालय सहितको एउटा सामुदायिक सूचना सेवा केन्द्र स्थापना गरिनेछ । उक्त
केन्द्र साथै प्रत्येक वडामा एक निशुल्क वाइफाइ क्षेत्र निर्माण गरी सर्वसाधारणलाई
इन्टरनेट सुविधा उपलब्ध गराइनेछ,
·
महाकुलुङ
रिङ रोड निर्माण कार्य छ महिना भित्रमा पुरा गरिनेछ ।
·
हालसम्म
निर्माण गरिएका सडकको स्तरउन्नती गरी बाह्रै महिना संचालन हुने गरी काम थालिनेछ,
·
भौगोलिक
वनावट र वातावरण अनुकुलन समेतको बिचार गरी स्थानीय समुदायको माग र आवश्यक्ताको
आधारमा सडक विस्तार गरिनेछ ।
·
५
बर्ष भित्रमा पालिमा रहेका मुख्य सडकहरुको ग्रावेल र पिच गर्ने कार्य सम्पन्न
हुनेछ ।
·
दोबाने-
निपाने- चाम्पेम्मा बुकुर गोरेटो बाटो निर्माण गरिनेछ ।
·
कोङखो
खोलामा मोटरेबल पुल निर्माण तत्कालै वा हुमरपाईप राखी बाह्रै महिना सडक संचालन
गरिनेछ ।
·
स्वास्थ्यका
लागि खेलकुद भन्ने नाराका साथ महाकुलुङ गाउपालिका वडा नं ४ मा सुविधा सम्पन्न
खेलकुद मैदान निर्माण गरिनेछ ।
·
पेल्माङबाट
खिरौले पुग्ने सडक ट्रयाक ओपन गरिनेछ ।
·
फुलवात्ती
खोला मोमुईस्को गोरेटो बाटो मर्मत सम्भार गरिनेछ ।
·
मामेर्कु
गुम्बासम्म सडक ट्रयाक ओपन गरिनेछ ।
·
बुङदेखि
गुदेल जोड्ने र गुदेलदेखि छेस्काम जोड्ने मोटरेवल पुलको सर्वेक्षण गरी निर्माण
कार्यको पहल गरिनेछ ।
·
दिगो
विकासको सम्भाब्यता हेरी आवश्यक स्थानहरुमा बसपार्कहरु निर्माण गरिनेछ ।
·
बैदेशिक
रोजगारीमा गएका स्थानीय युवाहरुको प्रमुख लगानीमा स्थानीय जनताको समूह निर्माण गरी
आफैले यातायात क्षेत्रमा लगानी गर्न उत्प्रेरणा तथा सहजीकरण गरिनेछ।
·
हाल
विद्युत सेवाबाट वञ्चित समुदायमा १ बर्ष भित्रमा विद्युत सेवा उपलब्ध गराईनेछ।
·
आगामी
३ बर्ष भित्र महाकुलुङको सबै गाउ समुदायमा केन्द्रीय विद्युत प्रशारण लाईन पुर्याई
विद्युत उपलब्ध गराईनेछ ।
·
महाकुलुङ
पालिका भित्र रहेका विपन्न एवं जेष्ठ नागरिकहरुलाई निशुल्क विद्युत उपलब्ध गराईनेछ
।
·
५
वर्ष भित्र हरेक घर घरमा स्वच्छ खानेपानीको लागि एक घर एक धाराको व्यवस्था गरिनेछ।
ङ) यूवा सशक्तिकरण, उद्यमशिलता र रोजगारी
युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदुत तथा परिवतर्नका
संवाहक शक्ति हुन् । साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण युवा
राष्ट्रको प्रमुख धरोहरको रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख
श्रोतसमेत मानिन्छ । नेपालमा १६ देखि ४० वर्ष उमेर समुहको जनसङ्ख्या कुल
जनसङ्ख्याको ४०.३ प्रतिशत रहेको छ । गुणात्मक, सङ्ख्यात्मक दृष्टिले युवा
राष्ट्रको मेरूदण्ड भएकाले युवाको सर्वाङ्गीण विकास गरी उनीहरूको क्षमतालाई
राष्ट्रिय विकासको मूलधारमा ल्याउनु जरूरी छ ।(राष्ट्रिय युवा नीति, २०७२)
·
बेरोजगार
युवाहरुलाई लक्षित क्षमता विकासका आवश्यक तालिमहरु सञ्चालन गरिनेछ । लोकसेवा आयोग, शिक्षक सेवा आयोग, बैंक, निगम, संस्थान, सुरक्षा निकाय, समिति लगायतले लिने परीक्षामा सामेल हुने युवाहरुलाई सकरात्मक उत्प्रेरणा
मिल्ने किसिमका अभिमुखिकरण कक्षाहरु समय समयमा सञ्चालन गरिनेछ ।
·
व्यवसायिक
कृषि, जडिबुटि खेती, घरेलु उद्योग सञ्चालन गरी युवाहरुलाई स्वरोजगार
तर्फ उन्मुख गर्ने र यसको लागि विभिन्न वित्तीय संस्थाबाट सहुलियत व्याजदरमा ऋणको
व्यवस्था गर्न पहल गरिनेछ।
·
युवाहरुमा
दिर्घकालिन रोजगारी सृजना गरी आत्मनिर्भर हुन व्यवसायिक कृषि, जडिबुटि खेती, घरेलु उद्योग सञ्चालन गरी युवाहरुलाई
स्वरोजगार तर्फ उन्मुख गर्ने र यसको लागि विभिन्न वित्तिय संस्थाबाट सहुलियत
व्याजदरमा ऋणको व्यवस्था गर्न पहल गरिनेछ ।
·
युवाहरुमा
खेलकुद विकास पूर्वाधारको विकास साथै विभिन्न प्रतियोगिता सञ्चालन गर्ने, विकास गरिनेछ र जिल्ला, प्रदेश र संघीय खेलकुदको सञ्जालसंग गर्न सहकार्य र समन्वय गर्नको लागि
महाकुलुङ स्तरिय खेलकुद विकासको गठन गरिनेछ ।
·
एक घर
एक रोजगार कार्यक्रम अन्तर्गत कृषिलाई रोजगारको प्रमुख आधारको रुपमा विकास गरिनेछ।
·
रोजगारका
अवसरहरु सृजना गरी आवश्यक्ता र क्षमताको आधारमा रोजगार उपलब्ध गराईनेछ।
च) साँस्कृतिक सम्पदाको संरक्षण
·
महाकुलुङभित्र
रहेका कुलुङ र नाछिरिङ जातिको भूमेथान, किरवा, चालिम्खम, पोम्लालुङ, देवीथान, संग्राहलय, शेर्पा जातिको गुम्बा, हिन्दुहरुको मठ, मन्दिर जस्ता साँस्कृतिक सम्पदाको संरक्षण र संर्वद्धन गरी सम्पूर्ण जातजातिको
धर्म, संस्कृतिलाई सम्मान गर्दै साँस्कृतिक पर्यटनको विकास तथा
विस्तार गरिनेछ । साथै आदिवासी जनजातिहरुको सामुहिक पहिचान झल्किने किसिमको
आदिवासी जनजाति संग्राहलय छेस्काममा निर्माण गरिनेछ ।
·
महाकुलुङ
भित्र बोलिने हरेक भाषा, धर्म, सँस्कार, सँस्कृतिलाई लिपिबद्ध गरेर जिवन्त तुल्याइनेछ।
छ) बन तथा वातारण
·
महाकुलुङ
क्षेत्रमा वातावरणीय संरक्षणको लागि जनचेतना कार्यक्रम संगै विशेष “हरियाली महाकुलुङ” कार्यक्रम सञ्चालन गरिनेछ । बहुमूल्य र
रैथाने जातको विरुवा डाले घाँसको नर्सरी तयार गरी खाली रहेको नीजि तथा सामुदायिक
जग्गामा वृक्षारोपन गर्ने बृहत कार्यक्रम ल्याइनेछ। महाकुलुङमा बाहिरबाट आयातित
रुख प्रजातिको जैविक अध्ययन गरी सो प्रजातिलाई विस्तारै प्रतिस्थापन गर्ने रणनीति
अनुशरण गरिनेछ ।
·
खानेपानीको
मुहान, अस्थायी स्थायी पानी पोखरी जस्ता सिमसारको संरक्षण गर्न
विशेष कार्यक्रम सञ्चालन गरी पर्यावरणलाई संरक्षण गरिनेछ ।
·
बहुमूल्य
र रैथाने जातको विरुवा, डाले घाँसको नर्सरी तयार गरी खाली रहेको नीजि
तथा सामुदायिक जग्गामा वृक्षारोपन गर्ने बृहद कार्यक्रम ल्याइनेछ ।
·
विश्व
वातावरण दिवशको उपलक्षमा वातावरण मैत्री विभिन्न कार्यक्रम, प्रतियोगिता सञ्चालन गरिनेछ,
ज) जलवायु परिवर्तनसंग अनुकुलन, विपद जोखिम न्युनिकरण तथा पूर्व–तयारी
विपद जोखिम न्युनिकरण; विपदको पूर्वतयारी, व्यवस्थापन तथा उद्धार र जलवायु
परिवर्तनसंग अनुकुलनलाई मुल प्रवाहमा ल्याउनका लागि काम गर्नेछ । यसका लागि केन्द्रीय, प्रादेशिक र स्थानीय गरी तीनै तहमा जोखिम सम्बन्धी कार्यक्रमहरुको जानकारी
प्रवाह गर्न सहजीकरण र सहकार्यलाई प्रवर्धन गरिनेछ । भुकम्प तथा
मिश्रित विपत्तिहरुको जोखिम जलवायु परिवर्तनका कारण खडेरी, बाढी, पहिरो तथा प्रतिकुल मौसम आइपर्नु जस्ता प्राकृतिक
प्रकोपहरुको सम्भावना बढ्दै गइरहेकोछ । फलस्वरुप महामारी र सुख्खापन फैलिनुका साथै
समुदायको जनजीवन र कृषि उत्पादनमा प्रतिकुल असर पर्दछ । विपत व्यवस्थापनका निम्ति
विशेषज्ञद्वारा अध्ययन गराई विस्तृत प्रतिवेदन तयार गरिनेछ। यससँगै हामीले निम्न
गतिविधिहरु गर्नेछौंः
·
विपद्
पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गर्ने,
·
प्रत्येक
वडामा विपद व्यवस्थापन कोष तयार गरिने छ । विपदमा परेका जनतालाई राहत उपलब्ध गर्न
निर्देशिका तयार गरी कोषबाट तत्काल राहत प्रदान गरिनेछ ।
·
आपतकालिन
परिस्थितिको लागि तयारी योजना र महिला, किशोर किशोरी तथा बालबालिकाका लागि राहत
तथा पुनर्स्थापना सेवाहरुको तयारी गर्ने
·
विपद
जोखिम न्युनीकरण तथा व्यवस्थापन (DRR&M) ऐन तथा स्थानीय
प्रशासन ऐनको कार्यान्वयन र राष्ट्रिय विपद जोखिम न्युनीकरण नीति तथा रणनीतिक
कार्य योजना निर्माण सुनिश्चित गर्ने । यी दस्तावेजहरु विपद जोखिम न्युनीकरण
सम्बन्धी २०१५–२०३० को सेन्डाई फ्रेमवर्कको देशव्यापी कार्यान्वयन गर्न
नेपालको लागि मार्गनिर्देशक बन्ने छन्।
·
स्थानीय
विपद तथा जलवायु प्रतिरक्षा योजना (LDCRP), राष्ट्रिय अनुकुलन
कार्यक्रम (NAPA) र स्थानीय अनुकुलन योजना (LAPAs) को विकास तथा
कार्यान्वयनका लागि केन्द्र र प्रदेश सरकारहरुलाई सहयोग माग गर्ने,
·
विपद
तथा जलवायु जोखिम मुल्यांकन र बालबालिका माथिको जोखिमका साथै बालबालिकाका
विशेष आवश्यकताहरुको महत्वलाई जोड दिनका लागि बालबालिका केन्द्रित विपद जोखिम
न्युनीकरण (DRR) र जलवायु परिवर्तन अनुकुलन (CCA) को प्रवर्धन गर्ने ।
·
भौगोलिक
अवस्थितिका कारण वर्षेनी भू–क्षय, पहिरोको नियन्त्रणका निम्ति
विशेषज्ञद्वारा अध्ययन गराई विस्तृत प्रतिवेदन तयार गरिनेछ । विशेषज्ञको
प्रतिवेदनको आधारमा अति जोखिम क्षेत्रको वस्ती व्यवस्थापनमा विशेष कार्यक्रम
ल्याइने प्रतिवद्धता जाहेर गरिनेछ ।
झ) प्रशासनिक पूर्वाधार विकास र सुशासन
·
सबै
समुदाय र सरोकारवालाहरुको सल्लाह सुझावको आधारमा आगामी १ बर्षभित्र पालिकाको
प्रशानिक केन्द्र तोक्ने र निर्माण कार्यको थालनी गर्ने साथै १ बर्ष भित्र सबै वडा
कार्यालयहरुले आफ्नो भवन निर्माण गरी आफ्नो वडा कार्यालयबाट सेवा प्रदान गर्न सुरु
गर्नेछ ।
· हाम्रो पार्टीको उम्मेदवार निर्वाचित हुने बित्तिकै उम्मेदवार र निजहरुको परिवारको नाममा रहेको मौजुदा सम्पत्ति सार्बजनिक गर्नेछौ । कार्यकालको अन्तमा बढेको सम्पत्तिको कानूनी श्रोत सार्वजनिक गर्नेछौं । राजनीतिलाई गरी पेशा नबनाई हरेक जनप्रतिधिले एउटा ब्यवसाय अंगाल्नेछौं । भष्ट्राचारप्रति शून्य सहनशिलताको नीति अवलम्बन गरिने छ । सेवाग्राही जनताको काममा हुने ढिलासुस्तीको अन्त्य गर्न सरकारी कार्यालयको एकिकृत नागरिक बडापत्र प्रकाशन गरी जनताको घरघरमा पुर्याईनेछ साथै सामाजिक सञ्जाल वा वेभसाईटमार्फत हरेक जनताको हात हातको मोबाईलमा उक्त बडापत्र पुर्याईनेछ। नागरिक बडापत्रको आधारमा आवश्यक कागजातहरु तयार गर्न सहयोगी कक्षको व्यवस्था गरिनेछ । उल्लेखित प्रक्रिया पुर्याएर आवश्यक कागजातहरु सहित आउने सेवाग्राहीले कार्यालयसँग आफ्नो काम हुने समय मागेर आएको खण्डमा आईपुगेको निश्चित मिनेटमै काम सम्पन्न गरिदिने एस.एम.एस प्रणाली पहिलोपटक लागू गरिनेछ । ‘आफ्नै सरकार पारदर्शी सरकार’को अवधारणालाई मूर्त रुप दिन संकलित राजस्वको विस्तृत विवरण सहितको सुचना हरेक छ महिनामा साविकको ३ गा.वि.स.हरुका २५ वटै वडाका सुचना पाटीहरुसम्म पुर्याईनेछ । प्राथमिकतामा राखिएका भौतिक योजनाहरुलाई बजेटको कारणले एक दिन पनि नरोकिने कुराको सूनिश्चितता गर्न गाउँसभाले पञ्च वर्षीय बजेट पारित गरेर अगाडी बढ्नेछ । सेवाग्राही जनताको गुनासो, सल्लाह, सुझावको लागि प्रत्येक वडामा सुझाव पेटिका राखिने छ । प्रत्येक ३ महिनामा गाँउपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा सुझाव पेटिकाको सुनुवाई गरिनेछ
अन्त्यमा रुख चिन्हमा मतदान गरौ ! नेपाली कांग्रेस, महाकुलुङका उम्मेदवारहरुलाई जिताऔ!!
धन्यवाद । जय नेपाल ।
नेपाली कांग्रेस, महाकुलुङ
स्थानीय तहको निर्वाचन प्रचार-प्रसार समिति, २०७९
Comments
Post a Comment